Flash News
Revenue/ Foreign Aid
लेकवेशी नगरपालिकाको आ.व २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम २०८२ आषाढ ०८ गते नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूले नगरसभामा पेश गर्नुभएको छ ।
लेकवेशी नगरपालिकाले लिएको "लेक र वेशीको संगमको आधार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगार सहितको पूर्वाधार" भन्ने दीर्घकालिन परिकल्पना कार्यान्वयन गर्न लेकवेशी नगरपालिकाको मार्गचित्रको रूपमा प्रस्तुत नीति तथा कार्यक्रममा निम्न विषयलाई जोड दिइएको छ ।
क. तहगत सरकारहरू बिचको समन्वय र सहकार्यमा नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने,
ख. नगरको समृद्धिको आधारको रूपमा रहेको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने,
ग. गुणस्तरीय, सर्वसुलभ शिक्षा र स्वास्थ्य मार्फत मानव पुँजीको विकास गर्ने,
घ. शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई रोजगारी र रोजगारीलाई गरिबी निवारणमा अन्तरआवद्धता कायम गर्ने,
ङ. कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रिकीकरण र विविधीकरण गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर गर्ने,
च. लघु तथा घरेलु उद्योग, पर्यटन, कृषि र पशु क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन मार्फत रोजगारी सिर्जना गर्ने,
छ. सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाई नागरिकमा सुशासनको अनुभूति दिलाउने,
ज. चालु तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्दै पुँजीगत खर्चमा वृद्धि गर्ने ।
नगर सभाका सदस्यज्यूहरू,
नगरमा खेलकुदको विकास एवं खेलाडीको मनोबल उच्च बनाउन नगरमा योजना हुने खेलकुद प्रतियोगिताका सबै खेलहरूका लागि भौतिक संरचना निर्माण तथा खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राखिनेछ । नगरपालिकाको प्रशासकीय भवन निर्माण हाल सम्म पनि निर्माण सम्पन्न नभएकोमा उक्त निर्माण कार्यलाई आगामी आर्थिक वर्ष 2082/083 भित्र सम्पन्न गरिनेछ । नगर अस्पतालको भौतिक संरचना निर्माणको कार्यलाई तिव्रता दिई जनशक्ति र उपकरणको व्यवस्था मिलाइने छ ।
विपद्को समयमा सरकारको उपस्थित र सक्रियतालाई आत्मसात् गर्दै पूर्वतयारी, खोज, उद्धार, उपचार, राहत, पुननिर्माण तथा पुर्नस्थापनामा स्थानीय सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै लगिएको छ । निजी आवासीय घरको प्राकृतिक विपद् लगायत भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति गर्न प्रदेश सरकारबाट सञ्चालन गरिएको घर बीमा कार्यक्रमलाई यस नगरपालिकामा पनि सुरूवात गरिएको छ ।
नगर सभा सदस्यज्यूहरू,
१. लेकवेशी नगरपालिकाको समग्र विकास प्रक्रियामा सबैलाई समेट्ने सोचका साथ आर्थिक, सामाजिक रूपले पछि परेको वर्ग, क्षेत्र, लिङ्ग, समुदायको उत्थान र सशक्तीकरणका लागि कार्यक्रम सञ्चालन गरिनेछ। विकासमा पछाडी परेको क्षेत्रको लागि स्रोत साधनको प्राथमिकतापूर्ण विनियोजन गरी समग्र विकासलाई सन्तुलित र समावेशी बनाइनेछ ।
२. नगरपालिकाको उत्पादन, रोजगारी, आय आर्जनका अवसर अभिवृद्धि गरी उत्पादनमुखी नगरको अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने कार्यक्रममा बजेट केन्द्रित गरी विनियोजन कुशलता कायम गरिनेछ ।
३. नगरपालिकाको बहुवर्षीय र स्रोत सुनिश्चितता प्राप्त योजनाहरू सम्पन्न हुने गरी प्राथमिकताका आधारमा रकम विनियोजन गरेर मात्र नयाँ योजनामा रकम विनियोजन गरिनेछ । निर्माण सम्पन्न भई उचित प्रतिफल दिन सक्ने अधुरा तथा क्रमागत योजनाका लागि निर्माण पुरा गर्न आवश्यक लागत रकम एकिन गरी पर्याप्त बजेट व्यवस्था गर्न पहल गरिनेछ । नगरपालिकाका अधुरा तथा रूग्ण योजनाहरूको बारेमा अध्ययन गरी सम्पन्न हुन नसक्ने र उचित प्रतिफल नदिने योजना खारेज गर्ने नीति लिइनेछ ।
४. नगरपालिकाको करको अधिकार क्षेत्रको संरक्षण र करको दायरा विस्तार गरी सम्भाव्य सबै करदातालाई कर प्रणालीमा आवद्ध गरी कर तिर्ने संस्कृतिको विकास गरिनेछ । कर सम्बन्धी एकल र साझा अधिकार विषयका नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन गरिनेछ ।
५. नगरपालिकाको राजश्व परिचालन अभिवृद्धिमा सहयोग पुग्ने र सामाजिक न्यायमा टेवा पुग्ने गरी सरकारी खर्चलाई निर्देशित गरिनेछ । स्थानीय तहमा कर चुहावट तथा छलीका सम्भाव्य क्षेत्र पहिचान गरी नियन्त्रणको उपयुक्त विधि र संयन्त्रको प्रभावकारीता बढाई आन्तरिक राजश्व परिचालन अभिवृद्धि गरिनेछ ।
6. नगरपालिकाको वित्तीय अनुशासन र वित्तीय व्यवस्थालाई थप व्यवस्थित र सुदृढ गर्न आर्थिक प्रशासन सम्बन्धी कानून, कार्यविधि र मापदण्डलाई पूर्ण रूपमा लागु गरिनेछ । आन्तरिक नियन्त्रण प्रणाली र आन्तरिक लेखापरीक्षण प्रणालीलाई थप सुदृढ गरी बेरूजु न्यूनिकरण तथा वित्तीय अनुशासन कायम गरिनेछ । बेरूजु फर्छ्यौटलाई कार्यसम्पादनसँग आवद्ध गर्दै नगरपालिकाको बेरूजु फर्छ्यौट कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ ।
७. नगरपालिकाको कृषि क्षेत्रको अनुदानलाई प्रभावकारी र पारदर्शी बनाउन प्रणालीको विकास गरिनेछ । पोषणमैत्री स्थानीय तह निर्माणका लागि नगरपालिका क्षेत्र भित्र बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइनेछ । नगरपालिका अन्तर्गतका विद्यालयहरूमा दिवा खाजा र खानामा स्थानीय उत्पादनमा आधारित खाद्य वस्तुको परिकार विविधिकरण गरी उपभोग गर्न प्रोत्साहित गरिनेछ । नगरपालिकामा उत्पादन भएका फलफूल र तरकारीजन्य उत्पादनको भण्डारणको लागि आवश्यकताको आधारमा संकलन केन्द्र, सोलार कोल्ड रूम निर्माणका लागि प्रदेश र संघिय सरकारसँग अनुरोध गरिनेछ ।
८. सन् २०३० सम्म नेपालबाट उन्मुलन गरिने लक्ष्य राखिएका खोरेत, पिपिआर र रेबिज लगायतका संक्रामक रोग नियन्त्रणका लागि रोगको खोज पड्ताल एवम् खोप अभियान सञ्चालन गरिनेछ ।
९. नगरपालिका क्षेत्र भित्रको भूमिको दिगो र उत्पादनमूलक उपयोगको लागि भूमिको वर्गीकरण तथा भू-उपयोग योजना अनुरूप कृषियोग्य भूमिको दिगो व्यवस्थापन मार्फत उत्पादकत्व वृद्धि गरिनेछ । भूमिको अतिक्रमण, खण्डीकरण, अव्यवस्थित सहरीकरण तथा जोखिम न्युनिकरण गरिनेछ । कृषियोग्य जमिनको चक्लाबन्दीलाई प्रोत्साहन गरी सामूहिक खेतीको विकास गरिनेछ । बाँझो जमिनको सदुपयोग गर्न "बसोबास गाउँमा, भविष्य आफ्नै ठाउँमा" भन्ने कर्णाली प्रदेश सरकारको नीतिलाई अनुसरण गरी प्रदेश सरकार, विकास साझेदार र नगरपालिकाको साझेदारीमा मागमा आधारित युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ।
१०. नगरपालिका भित्र छरिएर रहेका श्रम, सीप, स्रोत र पुँजीलाई सहकारीको माध्यमबाट उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहकारी मार्फत उद्ममशीलता विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिइनेछ । कृषि सहकारी संस्थालाई कृषिको उत्पादन र बजारीकरणमा संलग्न गराई उत्पादन वृद्धि गरिनेछ । सुशासनयुक्त सहकारी क्षेत्रको विकास र सुदृढीकरण गर्न सहकारीको नियमन, प्रशिक्षण र प्रवर्द्धनलाई प्रभावकारी बनाइनेछ।
नगर सभा सदस्यज्यूहरू,
११. नगरपालिका क्षेत्र भित्र निजी क्षेत्रका रोजगारदाताको सहकार्यमा बजार मागमा आधारित उद्यमशीलता विकास एवम् सिप विकास तालिम कार्यक्रम सञ्चालन गरिनेछ । नगरपालिकामा नवप्रवर्तनशील सोच भएका युवा लक्षित नयाँ उद्यम विकासको वातावरण निर्माण गर्न आवश्यक कार्यका लागि सहजिकरण गरिनेछ । यस्ता उद्योगबाट उत्पादित वस्तु तथा सेवाको गुणस्तरीयता कायम गरी बजारीकरणका लागि सहयोग र सहजीकरण गरिनेछ ।
१२. वैदेशिक रोजगारीबाट फर्केका युवा जनशक्तिसँग भएको ज्ञान, सीप, अनुभव, पुँजीको अभिलेखीकरण गरी सिप प्रमाणीकरण मार्फत सोको उपयोगका लागि नगरपालिकामै उद्यम व्यवसाय सञ्चालन गर्न कर्जामा सहजीकरण र ब्याज अनुदानका लागि नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
१३. नेपाल सरकार र प्रदेश सरकार समेतको समन्वय र सहकार्यमा नगरपालिका क्षेत्र भित्र उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको कालोबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना, अस्वाभाविक मूल्यवृद्धि लगायतका कार्यको नियमन तथा नियन्त्रण गरिनेछ । अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गर्न पहल गरिनेछ ।
१४. नगरपालिकाको विकट क्षेत्रमा प्राकृतिक रूपमा वर्षे पानी संकलन, पानीको स्रोत संरक्षण तथा व्यवस्थापनका लागि प्राकृतिक रिचार्ज पोखरी निर्माणलाई प्राथमिकतामा राखिनेछ ।
15. लेकवेशी नगरपालिकाको शिक्षा नीति तथा शिक्षा योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयको पूर्वाधार विस्तार तथा सुधार र शिक्षकको पेसागत विकासका कार्यक्रम सञ्चालन गरिनेछ । अंग्रेजी, गणित तथा विज्ञान विषयमा शिक्षक विद्यार्थी अनुपात उच्च रहेका नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरूका लागि अनुदान उपलब्ध गराउने कार्यक्रमलाई विस्तार गरिनेछ । विद्यार्थी संख्या न्यून भएका सामुदायिक विद्यालय मर्ज गर्ने कार्यलाई निरन्तरता दिइनेछ । विकट भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासिय विद्यालयहरू खोलिनेछ ।
१६. युवाको प्राविधिक ज्ञान र सिप विकास गरी दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रदायक शिक्षण संस्थाहरूको गुणस्तर सुधारलाई उच्च प्राथमिकता दिइनेछ । रोजगारी प्रवर्द्धनको लागि श्रम बजारको माग अनुसारको जनशक्तिको सिप तथा क्षमता विकास गरिनेछ । नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गरी सिप परीक्षण र प्रमाणीकरणको व्यवस्था मिलाइनेछ ।
१७. नगरपालिका भित्र दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न सबैलाई शिक्षाको अवसर दिलाउन दलित, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख, सीमान्तकृत समूहलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालय शिक्षामा सुधार गरी नतिजामुखी बनाउँदै गुणस्तर अभिवृद्धि गर्न कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि हप्तामा एक दिन किताब रहित शुक्रबार जीवन उपयोगी शैक्षिक कार्यक्रमको सुरूवात गरिनेछ ।
१८. बैंक खाता छोरीको: सुरक्षा जीवन भरीको कार्यक्रमलाई लेकवेशीका छोरीहरूको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सबलीकरण, सशक्तीकरण तर्फ परिलक्षित गरी परिमार्जित रूपमा सञ्चालन गर्ने नीति लिइनेछ । नगरपालिकालाई बालमैत्री, छुवाछुतमुक्त, बालविवाहमुक्त स्थानीय तह घोषणा गर्न आवश्यक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।
१९. नगरपालिकाका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय, अपाङ्ग, दलित, पछाडी परेका वर्ग, लोपोन्मुख तथा सीमान्तकृत वर्ग र समुदायको सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिनेछ । लैंगिक हिंसामा परेका महिला तथा बालबालिकाको उद्दार, संरक्षण र पुर्नस्थापनाका लागि समुदायको सहभागितामा पुर्नस्थापना केन्द्रमा पुर्याउने व्यवस्था मिलाइनेछ ।
20. मेरो स्वास्थ्य, मेरो जिम्मेवारी बोध गर्दै स्वस्थ र सिर्जनशील जीवनयापनका लागि खेलकुद, योग, व्यायाम, ध्यान र आयुर्वेदीय जिवनशैली एवं स्वास्थ्यकर आहार सम्बन्धी जनचेतनामुलक कार्यक्रम क्रमशः पालिकाका सबै विद्यालयस्तर र टोलटोलमा विस्तार गरिनेछ । प्रदेश सरकारसँगको सहकार्यमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्काउट र आत्मरक्षा सम्बन्धी तालिमको सुरूवात गरिनेछ ।
२१. आयुर्वेदिक औषधीको रूपमा प्रयोग हुने स्थानीय जडिबुटिको परिचय, पहिचान, प्रयोग, रोपण एवं संरक्षण सम्बन्धी अभियानमुलक कार्यक्रम वडास्तरमा संचालन गरि प्रत्येक नागरिकले बगैचा, खेतिवारी, करेसाबारी, गमला आदिमा जडिबुटी रोपण गर्न प्रोत्साहन कार्यक्रमको सुरूवात गरिनेछ।
नगर सभा सदस्यज्यूहरू,
२२. “कृषि उत्पादनको मूल आधार, सिचाई प्रणालीमा सुधार” भन्ने बोधका साथ परम्परागत मूल, ताल तलैया, पोखरीको संरक्षण र विकास गरी कृषियोग्य भूमिमा प्राथमिकताको आधारमा उपयुक्त प्रविधि मार्फत वर्षै भरी सिचाइ सुविधा उपलब्ध गराउने नीति लिइनेछ । संघीय सरकार, प्रदेश सरकार र विकास साझेदार संघसंस्थाहरूको सहकार्यमा एक घर एक धारा अभियानलाई थप विस्तार गरिनेछ । खानेपानी गुणस्तर सुधार तथा जलवायु उत्थानशील आधारभूत खानेपानी र सरसफाइ तथा स्वच्छता सेवाको विस्तार गरिनेछ ।
२३. नगरपालिका क्षेत्रका खेतीयोग्य जमिन/टार क्षेत्रहरूको पहिचान गरी सम्भाव्यताको आधारमा लिफ्ट सिँचाइ, ड्रिप सिचाइ, स्प्रिङ्कल सिचाइ जस्ता नयाँ प्रविधिमा आधारित सिचाइ कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । समुदायमा सञ्चालित लिफ्ट खानेपानी तथा सिचाइ प्रणालीमा विद्युत महशुलमा सहुलियतका लागि आवश्यक पहल गरिनेछ ।
२४. लागू औषध दुर्व्यसन, आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि शिक्षण संस्था तथा समुदायमा सकारात्मक सोच तथा सचेतनामूलक कार्यक्रम विकास साझेदार संघसंस्थाहरूसँगको समन्वय र सहकार्यमा सञ्चालन गरिनेछ ।
25. विपद् व्यवस्थापनका कार्यमा तहगत सरकार, निजी क्षेत्र, नगरपालिकामा क्रियाशिल विकास साझेदार तथा सामाजिक संघसंस्था लगायत सरोकारवालासँग साझेदारीलाई प्रभावकारी बनाइनेछ।
26. स्थानीय स्तरको माग र आवश्यकता अनुरूपका रोजगार कार्यक्रमलाई स्थानीय पूर्वाधार विकासको अतिरिक्त सिप तथा उद्यम विकासका कार्यक्रम मार्फत रोजगार तथा स्वरोजगारका अवसर सिर्जना गरिनेछ ।
27. नगर कार्यपालिकाको कार्यालय र मातहतका कार्यालयबाट हुने सेवा प्रवाह र विकास निर्माणमा जनगुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउँदै शीघ्र सुनुवाईको व्यवस्था मिलाइनेछ । अन्य स्थानीय सरकारसँग भएका साझा सहमति कार्यान्वयनलाई प्राथमिकतामा राखी साझा सरोकारका विषयमा आपसी समन्वय, सहकार्य र साझेदारी गर्ने नीति विस्तार गरिनेछ ।
२८. विद्यालय शिक्षालाई सर्वसुलभ, पहुचयोग्य र सामाजिक न्यायको सिद्धान्त अवलम्बन गरि गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । स्थानीय पाठ्यक्रम बमोजिम पाठ्यपुस्तक निर्माणका साथै विद्यालय शिक्षाको गुणस्तर बढाउन सूचना तथा सञ्चार प्रविधि (ICT) को पहुँच, फर्निचर, कम्प्यूटर तथा पुस्तकालयको व्यवस्थापन गरिनेछ । साथै विद्यालय बाहिर रहेका सबै बालबालिकाहरुलाई विद्यालय शिक्षाको पहुँचमा ल्याउन कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयहरुको भौतिक निर्माण कार्यलाई आवश्यकताको आधारमा थप व्यवस्थित गराउँदै लगिनेछ ।
२९. विगत आर्थिक वर्षसम्म प्राविधिक शिक्षालाई प्रोत्साहन गर्न प्रत्येक आ.व.मा एक जना जेहेन्दार तथा तोकिएको मापदण्ड पुरा गरेको विद्यार्थीलाई दिईएको चिकित्सा शिक्षा (एम.वि.वि.एस.) अध्ययनका लागि प्रदान गरिएको छात्रवृत्ति अनुदानलाई निरन्तरता दिइनेछ ।
३०. विद्यालयमा बालमैत्री वातावरण निर्माण गर्न शिक्षण सिकाई सामाग्रीको व्यवस्था र विद्यार्थीहरुको थप सिकाई उपलब्धी बढाउन कार्ययोजना निर्माण र लागु गर्ने व्यवस्था गर्दै विद्यालय शिक्षाको गुणस्तर बढाउन अनुगमन, मूल्याङ्कन तथा थप पृष्ठपोपणको कार्यलाई प्रभावकारी बनाईनेछ । शिक्षकको पेशागत विकासका लागि छोटो अवधिको मोडयूलर तालिमको व्यवस्था गरिनेछ ।
३१. नगर शिक्षण सिकाई अनुदान, विद्यालय कर्मचारी तथा बालविकास सहयोगी कार्यकर्ताहरुलाई दिईदै आएको थप प्रोत्साहन भत्ता र सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको मासिक बैठक भत्तालाई निरन्तरता दिईनेछ ।
नगर सभा सदस्यज्यूहरू,
32. हामी सुधार्छौ हाम्रो विद्यालय अभियान सञ्चालन मार्फत अभिभावक, शिक्षक र विद्यार्थीबीच त्रिपक्षीय सम्बन्ध सुदृढीकरण गरिनेछ । नगरपालिका, विकास साझेदार संघसंस्था र विद्यालयको साझेदारीमा हरित विद्यालय विकास कार्यक्रम सञ्चालन गरिनेछ । नगरपालिका क्षेत्र भित्रका विद्यालयहरूमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरिनेछ ।
33. नगर खेलकुद समितिलाई क्रियाशील बनाईनेछ । विद्यालयहरुमा खेलकुद, तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ । नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता र अन्य प्रतियोगिता मार्फत खेलकुद तथा अन्य क्रियाकलापहरू सञ्चालन गरी युवाहरू बीच प्रतिस्पर्धात्मक भावनाको विकास गरिनेछ ।
34. स्वयम् सेवक किसानको परिचालन तथा कृषक पाठशाला संचालन एवं परम्परागत ज्ञान, सिप र रैथाने बीउ, प्रविधि र सिपको संरक्षण सम्बर्द्धन गरिनेछ । किसानको पहिचान, वर्गिकरण र किसान परिचयपत्र तथ्याङ्क व्यवस्थापन तथा परिचयपत्र वितरण र परिचयपत्रका आधारमा अनुदानको व्यवस्था गरिनेछ ।
३5. स्वच्छ र दिगो कृषि उत्पादनको लागि एक घर एक पोषण बगैंचा कार्यक्रम सञ्चालनको नीति लिइनेछ । गोठ तथा भकारो सुधार मार्फत् प्राङ्गारिक मल उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ । गरिब तथा भूमिहीन परिवारको लागि जग्गा भाडामा लिई गरिने खेती (करार खेती कार्यक्रम) को सुरूवात गरिनेछ ।
३6. स्वच्छ उत्पादनको प्रमाणीकरण र बजारीकरण, सहभागितात्मक सुनिश्चिततता प्रणाली (पिजिएस) को सुरूवात गरिनेछ । कृषि पेशाको जोखिम हस्तान्तरणको लागि अनिवार्य बाली तथा पशु बिमाका लागि प्रोत्साहन गरिनेछ । घरधुरीको जीविकोपार्जनमा आधारित कृषि लघु उद्यमको विकासको नीति लिइनेछ । स्थानीय उत्पादनमा आधारित दिगो खाद्य सुरक्षा प्रणालीको विकास र परिचालन गरिनेछ।
37. नगरपालिकाका साना, सिमान्त, भूमिहीन लक्षित उत्पादनका लागि आवश्यक बिरुवा, बीउ, मल र औजार अनुदानमा उपलब्ध गराउने नीति लिइनेछ । कृषि उत्पादकत्व वृद्धिको लागि माटो परीक्षण, पशु स्वास्थ्य शिविर, बिरुवा क्लीनिक, रोग किराको व्यवस्थापनका लागि कार्यक्रम सञ्चालन गरिनेछ।
38. पालिका स्तरमा सामुदायिक बीउ बैंक र खाद्य भकारी स्थापनाका लागि सहकार्य गरिनेछ । स्थानीय उत्पादन संकलन, किसान बजार र बजारीकरण संयन्त्र विकासका लागि आवश्यक प्रबन्ध मिलाइनेछ।
39. नगरपालिकाका किसानको घर, गोठसम्म कृषि प्रसार सेवा पहुँच र विस्तार गरिनेछ । वन्यजन्तुले नगरपालिका क्षेत्रका किसानको बालीमा गरेको क्षतिको एकिन गरी क्षतिपूर्तिलाई सरल भुक्तानीको व्यवस्था गरिनेछ ।
40. स्थानीय खाद्य सुरक्षा समन्वय समितिलाई क्रियाशील बनाइनेछ । साना, सिमान्तकृत र महिला र भूमिहिन किसानको लागि स्थानीय तहमा उद्यम दर्ता र नवीकरणको लागि विशेष छुटको व्यवस्था गरिनेछ ।
41. कृषि क्षेत्रमा लागत कम गरी कृषिलाई आधुनिक, सहज, सुरक्षित तथा उत्पादनमुखी बनाउने उद्देश्यले नयाँ प्रविधिमा आधारित औजार-उपकरण, यान्त्रिक साधन तथा सामाग्रीमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइनेछ । जलवायु अनुकूल कृषि प्रविधिको प्रवर्द्धन गर्न जलवायुमैत्री प्लाष्टिक पोखरी निर्माण, भर्मिकम्पोष्ट उत्पादन र जैविक विषादी प्रयोगमा अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।
नगर सभा सदस्यज्यूहरू,
42. अर्गानिक कृषिमा वृद्धि, कर्णालीको समृद्धि भन्ने नारा सहित सुरुवात गरिएको कर्णाली प्रदेशको अर्गानिक कृषि अभियानलाई सफल पार्न लेकवेशी नगरपालिका अन्तर्गतका सबै सरोकारवालाहरूको समन्वय र सहकार्यमा कृषकहरू छनोट गरी प्राङ्गारिक मल तथा जैविक विषादीमा अनुदान दिइनेछ ।
43. कृषि पेशामा संलग्न कृषकको क्षमता अभिवृद्धिका लागि वडास्तरमा स्थलगत किसान तालिम तथा पर्यावरणीय कृषि सम्बन्धी जनचेतना कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
44. कृषकसँग प्रत्यक्ष संवाद र समस्या समाधान गर्न “कृषकसँग नगर प्रमुख” कार्यक्रम तथा पि.सि.पि.एस. प्रणाली मार्फत समस्या पहिचान कार्यक्रम लागू गरिनेछ ।
45. नगरपालिका क्षेत्र भित्रका उत्कृष्ट उद्यमी, कृषक, विभिन्न खेलकुदमा उत्कृष्ट हुने खेलाडी र कक्षा ५, ८ र १० मा उत्कृष्ट हुने विद्यार्थीहरूलाई प्रोत्साहन गर्नका लागि सम्मान तथा पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
46. कृषक सूचीकरण कार्यक्रम सञ्चालन गरी कृषि तथ्यांक IDMS प्रणालीमा प्रविष्ट गरिनेछ । यसका लागि कृषक सूचीकरण कार्यक्रम बाँकी रहेका वडाहरूमा समेत कार्यान्वयन गर्दै लगिनेछ । कृषि जैविक विविधता संरक्षण र प्रवर्द्धन गर्न सम्भाव्यताका आधारमा नेटामा कोदोबाली, वडा नं ८ मा अदुवा, वडा नं ३ मा फलफूल तथा वडा नं २ र १० मा तरकारी उत्पादन केन्द्रको स्थापना गरिनेछ ।
47. नगरभित्रको मदन भण्डारी राजमार्ग र शाखा सडकका कोरिडोरहरूलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइनेछ । कृषि अनुसन्धान निर्देशनालय दशरथपुर, सहकारी र विकास साझेदारहरूसँगको समन्वय र सहकार्यमा उन्नत बीउ उत्पादन कार्यक्रम सुरुवात गरिनेछ ।
48. लैङ्गिक हिंसा, चेलीबेटी बेचविखन तथा घरेलु हिंसा जस्ता जघन्य अपराधहरुको न्यूनिकरणका लागि नगर स्तरीय समिति गठन गरि बस्तीस्तरमा विभिन्न प्रकारका अभिमुखिकरण कार्यक्रम संचालन गरिनेछ ।
49. पशुपन्छिको स्वास्थ्यमा सुधार तथा उत्पादन बृद्धिका लागि उपचार सेवा, खोप कार्यक्रमलाई संचालन तथा विस्तार गरिने छ । पशुपन्छिको नश्ल सुधार गरि उत्पादनमा वृद्धि गर्नका लागि कृत्रिम गर्भाधान सेवालाई विस्तार गरिने छ ।
50. पशुजन्य उत्पादनमा लागत कम गर्दै थप आयआर्जनका लागि व्यवस्थित खोर/गोठ तथा बाह्रै महिना हरियो घाँसको व्यवस्थापन गर्न कार्यक्रम सञ्चालन गरिनेछ । सीप अभिवृद्धि मार्फत कृषकलाई दक्ष गराई व्यवसायीक पशुपालन गर्न प्रोत्साहन गरिनेछ । जुनोटिक रोगहरुबारे जानकारी प्रदान गर्न सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
51. संघीय सरकार, प्रदेश सरकार र विकास साझेदार संघसंस्थाहरूसँगको सहकार्य र समन्वयमा पशुपन्छीहरुको तथ्याङ्क संकलन, महामारी तथा आकस्मिक रोगहरुको रोकथाम तथा उपचार कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।
52. सेवा प्रवाहमा विद्युतीय माध्यमका उपकरणहरु (Software and tools) को प्रयोग गरी पारदर्शी, द्रुत सेवा प्रवाहका कार्यलाई निरन्तरता दिदै मातहतका कार्यलयहरुमा ईन्टरनेट, सूचना प्रविधि पूर्वाधार लगायतका क्षेत्रहरुलाई सुधार गरि सेवा प्रवाहलाई थप प्रभावकारी गराईनेछ ।
नगर सभा सदस्यज्यूहरू,
53. स्थानीय उत्पादनको बजारीकरणका लागि मेला, महोत्सव एवं प्रदर्शनीमा सहभागिताका माध्यमबाट आवश्यक प्रवर्द्धनका साथै लघु, घरेलु तथा साना उद्यमको विकास, विस्तार र प्रवर्द्धन गरिनेछ ।
54. नगरपालिका भित्रका आम जनताका लागि निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिएको सुनिश्चितता गरिनेछ र लेकवेशी नगर अस्पतालबाट प्रवाह हुने सेवालार्इ थप प्रभावकारी र गुणस्तरीय बनार्इनेछ । गुणस्तरिय सेवा प्रवाहलाई सुदृढ गर्नका लागि आवश्यक जनशक्ति, पूर्वाधार, औषधी, औषधीजन्य सामाग्री, औजार, उपकरण तथा निदानात्मक सेवालाई थप प्रभावकारी बनाइनेछ।
55. न्यूनतम सेवा मापदण्ड अनुसारको स्वास्थ्य सेवा नगरपालिकाका सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाट अनिवार्य रूपमा प्रवाह गरिनेछ । सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक र साँस्कृतिक हिसाबले पछाडि परेका समुदायको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपभोग वृद्धि गरिनेछ ।
56. किशोर किशोरी, महिला तथा बालबालिकामा विद्यमान कुपोषण न्यूनिकरणका लागि रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापन सेवा सञ्चालन गरिनेछ । बालबालिका र किशोर, किशोरी तथा महिलाको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गरी मृत्युदर र रुग्णता दर घटाइनेछ ।
57. स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन गरिनेछ । सुर्तिजन्य पदार्थ, मदिरा तथा लागू पदार्थहरुको प्रयोगमा नियन्त्रण तथा नियमन गर्नुका साथै सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ ।
58. जुनोटिक, किटजन्य रोग तथा जनस्वास्थ्य, आपतकालिन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना कार्यान्वयन गरिनेछ । जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरुको स्थानीयस्तरको क्लिनिक दर्ता, संचालन अनुमति र नियमन गरिनेछ ।
59. स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था गरिनेछ । स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्दै स्वास्थ्य सेवालाई जनमुखी एवं परिणाममूखी बनाईनेछ । महिला स्वास्थ्य स्वंयसेविकाहरुको योगदानलाई उच्च कदर गर्दै प्रोत्साहन गरिनेछ । सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्य बिमा कार्यक्रमलार्इ प्रभावकारी बनाउन प्रोत्साहन गरिनेछ ।
60. आगामी आ.व. 2082/083 देखि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन सामुदायिक योजनाहरुमा पालिकाको लागत साझेदारीमा कार्य गरिनेछ । वडा तहमा समेत लागत साझेदारी कायम गरी रोजगारीको प्रवर्द्धन र भौतिक पूर्वधारको विकास गरिनेछ ।
61. यस नगरपालिकामा दर्ता भएका बेरोजगार व्यक्तिहरुलाई न्यूनत्तम रोजगारीको प्रत्याभूती गर्नका लागि प्रधानमन्त्री रोजगार तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा सहभागी गराई समुदायको विकाससँगै रोजगारीको हक तथा सामाजिक सुरक्षाको प्रत्याभूति गराईनेछ ।
62. अदक्ष तथा अर्धदक्ष बेरोजगार व्यक्तिहरुलाई सीप विकास तालिम संचालन गरि व्यवसायिक योजना बनाउन सहयोग गरि उपयुक्त प्रविधि हस्तान्तरण मार्फत् दिगो रोजगारीको लागि पहल गरिनेछ ।
नगर सभा सदस्यज्यूहरू,
63. रोजगारीको हकको प्रभावकारी कार्यान्वयन स्थानीय तहमा उपलब्ध हुने रोजगारीको अवसरको पहिचान, समस्याको निदान र रोजगारीको क्षेत्रमा नविनत्तम उपाय र विधिको पहिचान गरि आवश्यकता अनुसार स्थानीय तहलाई राय सुझाव प्रदान गर्न रोजगार संवाद मञ्च गठन गरिनेछ। साथै रोजगार रणनीति बनाई लागु गरिनेछ ।
64. नगरपालिकालाई बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न कार्यक्रमहरू सञ्चालन गरिनेछ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धता हुनको लागि अभिमुखिकरण गरिने छ ।
65. नगरको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचार प्रसारमा संचार माध्यम र नीजि क्षेत्रसँग सहकार्य गर्ने नीति लिइनेछ । यस नगरपालिकाको क्षेत्र भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न निकायहरुसँग सहकार्य र समन्वय गरिनेछ।
66. संघीय तथा प्रदेश सरकारको समन्वयमा लेकवेशी नगरपालिकाको पर्यटन स्थलहरु जस्तैः लेकगाँउको स्कुलडाँडा, मालधुरी नेटा, भोटेदरबार, सात्तले गुफा, बाग्दुल्ला गुफा, ठ्युरो गुफा, ऋषि गुफा, लामिडाँडा थाम, चमेरे गुफा लगायतका स्थानहरूमा पर्यटनको विकास गरिनेछ ।
67. संघीय सरकार, प्रदेश सरकार र विकास साझेदार संघ/संस्थाहरुको समन्वय तथा सहयोगमा भेरी-बबई डाईभर्सनको मुहान भेरी नदी किनार छोटेमा होम-स्टे, होटल लज तथा पिकनिक स्थलको रुपमा विकास गरी पर्यटकलाई आकर्षणका लागि पहल गरिनेछ ।
68. नगरपालिका क्षेत्र भित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यको लागि राष्ट्रिय भूमि आयोगसँग समन्वय र सहकार्य गरी आयोगले निर्माण गरेको कानून, कार्यविधी बमोजिम बाँकी रहेका कार्यलाई आवश्यक बजेट व्यवस्था गरी अगाडी बढाईनेछ ।
69. ×सफा स्वच्छ हरियाली सडक, खोला र नदी, पर्या-पर्यटनको विकास संगै हुन्छ लेकवेशीको उन्नती" भन्ने मुल नारालाई सार्थकता दिन पालिकाको वन, वातावरण र पर्यावरणको संरक्षण गर्ने कार्यलाई अगाडी बढाइनेछ । नगरपालिकाको मदन भण्डारी राजमार्ग क्षेत्र र बजार क्षेत्रमा हुने फोहोरमैला व्यवस्थापनमा आवश्यक नीति ल्याइनेछ ।
70. मदन भण्डारी राजमार्गमा सवारी चाप बढ्ने, जथाभावी विज्ञापन बोर्ड (होडिङ्ग बोर्ड) राख्न सक्ने भई शहर असोभनिय हुन सक्ने हुँदा त्यसलाई व्यवस्थित गरी राजश्व अभिवृद्धि गर्न र सडकको दायाँबायाँ खाली स्थानमा वृक्षारोपण गरी वातावरणीय स्वच्छता कायम गराउने नीति लिइनेछ ।
71. दैनिक प्रयोग हुने प्लाष्टक झोलाले पर्यावरणमा साथै कृषि उत्पादनमा समेत असर पार्ने भएकोले प्लाष्टिकका झोलाको प्रयोगलाई निरुत्साहित गर्न स्थानीय रुपमै उत्पादन भएका कपडाका झोलाको प्रयोग गर्न प्रोत्साहन गरिनेछ ।
72. यस नगरपालिका क्षेत्रमा रहेका राजमार्ग तथा सडकहरु र नगर क्षेत्रमा बग्ने नदी खोलाहरुको अधिकार क्षेत्र किटान गरि सडक तथा खोला किनारामा बहु-उपयोगी विरुवाहरु वृक्षारोपण गरिनेछ। भू-क्षय तथा नदी कटान रोक्न प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा नदी नियन्त्रणका कार्यक्रमहरु संचालन गरिनेछ ।
73. नगरपालिका क्षेत्र भित्र रहेका धारा, कुवा, पँधेरा आदिको उचित मर्मत सम्भार र संरक्षण गरिनेछ। खोला, नदीको स्वच्छता कायम राख्न प्रदुषित पानी, ढल र फोहोरमैलालाई नदीमा मिसाउने कार्य नियन्त्रण गरिनेछ । नगरपालिका क्षेत्रमा बग्ने नदी तथा खोलामा विषादी, करेन्ट तथा विष्फोटक पदार्थ प्रयोग गरि माछा मार्ने कार्यलाई पूर्ण प्रतिवन्ध लगाईने छ । मापदण्ड विपरित प्रदुषण गर्ने व्यक्ति तथा संस्थालाई कानुनी रुपमा दण्ड दिने व्यवस्था गरिनेछ । यसको लागि आवश्यक कानून तर्जुमा गरि कडाईका साथ लागु गरिने छ ।
74. मदन भण्डारी राजमार्ग अन्तर्गत नगरपालिकाको क्षेत्र भित्र राजमार्ग आसपासका क्षेत्र र कृषि योग्य जमिनको बीचमा रहेका विद्युत प्रसारण लाइनका पोलहरूमा हाइ भोल्टेजका विद्युतका तारहरू लत्रिएका कारण सवारी साधनहरूको आवागमनमा समस्या भएको र कृषकहरूलाई कृषि कार्य गर्दा भौतिक तथा मानविय क्षति हुन सक्ने उच्च सम्भावना रहेको हुँदा राजमार्ग आसपासमा र कृषियोग्य जमिनका बीचमा रहेका विद्युत पोल तथा तारहरूको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गरिनेछ ।
75. संघीय सरकारको अनुदान अन्तर्गत विगत आ.व. मा नै १५शैयाको नगर अस्पताल निर्माणको लागि ठेक्का सम्झौता भएकोमा जग्गा सुनिश्चितता नभएको कारण हालसम्म भवन निर्माण कार्य सूचारू हुन नसकेकोमा वन तथा भू-संरक्षण विभागसँग आवश्यक पहल गरी जग्गा व्यवस्थापनको कार्य सम्पन्न भएकोले अस्पताल भवनको निर्माण कार्य यथाशिघ्र सुचारू गरिनेछ ।
76. नगरपालिकामा बसोबास गर्ने गर्भवती महिलाहरूलाई प्रसुति सम्बन्धि समस्या भई उपचारका लागि उच्चस्तरीय स्वास्थ्य संस्थामा लैजानु पर्ने अवस्था भएमा सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिसमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
77. नगरपालिका भित्रका मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरूदण्ड पक्षघातका दीर्घ रोगीहरूलाई औषधी उपचार खर्च वापत मासिक रूपमा उपलब्ध गराउदै आइरहेको रकमलाई निरन्तरता दिइनेछ ।
78. लेकवेशी नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक, ऐलानी, सरकारी पर्ति जग्गाहरुको एकिकृत विवरण तयार गरी समुचित उपयोग, संरक्षण र सार्वजनिक उपयोगमा ल्याइनेछ । स्थानीय तहबाट हुने पार्क, खुला क्षेत्रका पूर्वाधारहरुको निर्माणमा सार्वजनिक जग्गाको प्रयोगलाई प्राथमिकता दिई आवश्यकता र सम्भावनाको आधारमा उपयोग र व्यवस्थापन गरिनेछ ।
79. पालिकाको क्षेत्राधिकार भित्र पर्ने सहकारी संस्थाहरूलाई चुस्त दुरुस्त बनाउनका लागि अनिवार्य रूपमा कोपोमिस (COPOMIS) सफ्टवेरमा आवद्ध गरिनेछ ।
80. मुलुकमा आएको आर्थिक मन्दीका साथै सहकारी संस्थाका सञ्चालकहरुले व्यक्तिगत स्वार्थका लागि सदस्यको बचत दुरुपयोग गरेको उदाहरणहरु बढ्दै गएको अवस्थामा सहकारीको ब्यानर राखेर सदस्यबाट संकलित बचतलाई आफु अनुकुल परिचालन गर्दा एकपछि अर्को सहकारी संस्थाहरू वित्तीय रुपमा संकटग्रस्त बन्दै गएका छन् । सहकारीमा सुशासन कायम गर्न, नियामक निकायले पटक-पटक दिएका निर्देशनहरु पालना गर्न आलटाल गर्ने र आनाकानी गर्ने सहकारी संस्थाहरुलाई नियम सम्मत रूपमा कार्य गर्न आवश्यक कदम चालिनेछ ।
81. नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सहकारीमा वित्तीय सुशासन कायमा राख्न, संस्थागत क्षमता अभिवृद्धि गर्न नगरपालिकाबाट नियमित अनुगमन र मुल्यांकन गरिनेछ । त्यसका लागि सहकारी समन्वय वैठक र आवश्यकता अनुसार अभिमुखिकरण तालिम सञ्चालन गरिनेछ । वर्तमान वित्तीय बजारमा सहकारीको उपस्थितिलाई वित्तीय रुपमा सुरक्षित र नीतिगत रुपमा सुशासित राख्न सरोकारवाला निकाय र सहकारी संघ संस्थालाई जवाफदेहि बनाईनेछ ।
82. स्थानीय तहको क्षेत्राधिकारको रुपमा रहेको घर वहाल कर, सम्पत्ति कर र व्यवसाय कर जस्ता महत्वपूर्ण करको दायरा बिस्तारको नीति लिईनेछ । वित्तिय ब्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता बहन गर्ने क्षमतामा सुधार ल्याईनेछ। कर असुली कार्यलाई पारदर्शी गराउन प्रविधि मैत्री बनाई नगर तथा वडामा कार्यरत कर्मचारीलाई विभिन्न क्षमता विकासका तालिम सञ्चालन गरिनेछ ।
नगर सभा सदस्यज्यूहरू,
83. नेपालको संविधान अन्तरगत स्थानीय तहको अधिकार सुची भित्र पर्ने सम्पत्ति कर, भूमि कर, घरजग्गा बहाल कर, व्यापार व्यवसाय कर, जडिवुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, वहाल विटौरी शुल्क, मनोरञ्जन कर, पार्किङ्ग शुल्क तथा विभिन्न सेवा शुल्क दस्तुरका क्षेत्रलाई फराकिलो पार्दै कर एवं शुल्क तिरेको अनुभुति हुने गरी कर संकलन कार्यलाई निरन्तरता दिईनेछ ।
84. पालिका भित्र रहेका विभिन्न वर्गका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण कार्यलाई निरन्तरता दिइ अपाङ्ग व्यक्तिहरुको क्षमता अभिवृद्धि र आवश्यक सहायक सामाग्री वितरण र आयआर्जनको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
85. सबै सडकहरुको Right Of Way निर्धारण गरी सडक संरक्षण गर्नुको साथै सडकहरूको नामाकरण गरिनेछ । नगरपालिकामा रहेको ब्याक हो लोडर र टिप्परलाई प्रयोग गरी नगर भित्रका कच्ची सडकमा आउने पहिरो लगायतका अवरोधहरु हटाई जनताको दैनिक आवत जावतलाई सहज बनाउने कार्यलाई निरन्तरता दिईनेछ ।
86. नगरपालिका क्षेत्रका विभिन्न पूर्वाधार निर्माण सम्बन्धी योजना तथा सडक विस्तारका क्रममा सडक अधिकार क्षेत्र भित्रबाट निस्कने ढुंगा, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्री सम्बन्धित योजनाले उपयोग गर्ने अवस्थामा तोकिएको परिमाणका आधारमा बिक्री मूल्य अनुसारको रकम नगरपालिकालाई बुझाएर मात्र उपयोग गर्न दिइने नीतिलाई निरन्तरता दिइनेछ । नगरपालिका भित्र रहेका झोलुङ्गे पुलहरूको सुरक्षाको लागि पुल हेरालुको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
87. नगरपालिकाको वार्षिक योजनामा उल्लेख भएका योजनाहरूलाई कार्यान्वयन गर्दा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली बमोजिम उपभोक्ता समितिको श्रम, दक्षता, ज्ञान, सिप प्रयोग हुने खालका योजना मात्र उपभोक्ता समिति मार्फत गर्न लगाई भारी यन्त्र, उपकरण प्रयोग र सामाग्री खरिदमा ठूलो हिस्सा, रकम भएका योजनाहरू उपभोक्ता समितिलाई जिम्मेवारी नदिने गरी उपभोक्ता समिति व्यवसायी बन्ने प्रचलनलाई निरूत्साहित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
88. नगरपालिकाको कार्यबोझको आधारमा विज्ञ परामर्श सेवा मार्फत चालु आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत नीति तथा कार्यक्रम अनुसार यस नगरपालिकाको नगर सभाको १६औ अधिवेशनबाट नगरपालिकाको संगठन व्यवस्थापन तथा सर्वेक्षण (O&M) लाई पारित गरि सकिएको छ । संगठन व्यवस्थापन तथा सर्वेक्षण (O&M) अनुसार नगरपालिकाको स्रोत र साधन आँकलन गरी दरबन्दी सिर्जना गर्ने, कर्मचारीको पदपूर्ति गर्ने र कर्मचारीलाई निश्चित सूचकका आधारमा कार्य विवरण सहितको कार्य सम्पादन सम्झौता गरि कार्यान्वयन पक्षको मूल्यांकनका आधारमा पुरस्कार र दण्ड गर्ने नीति अवलम्वन गरिनेछ ।
89. नगरपालिकाको वित्तीय सुशासन कायम गर्नका लागि पत्रपत्रिकामा टेण्डर/कोटेशनका सूचना प्रकाशन, खरिद कार्यलाई टुक्रा टुक्रा पारि खरिद गर्ने कार्यलाई निरूत्साहित गरी वर्षभरिको लागि कार्यालय सामाग्रीको अनुमान गरी सार्वजनिक खरिद ऐन र नियमावलीले निर्दिष्ट गरेको व्यवस्था कार्यान्वयन गरिनेछ ।
90. स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारीमा न्यायिक कार्य गर्ने रहेको हुँदा लेकवेशी नगरपालिका अन्तर्गतको न्यायिक समिति मार्फत गरिने न्यायिक सम्पादन कार्यलाई थप व्यवस्थित गराउँदै सो को प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । न्यायिक समितिका सदस्य र सूचीकृत मेलमिलापकर्ताहरूको क्षमता विकासमा आवश्यक पहल गरिनेछ ।