FAQs Complain Problems

२०७८ जेष्ठ ०२ गते बसेको आकस्मिक बैठकका निर्णयहरु

मिति २०७८ साल ज्येष्ठ २ गते शुक्रबारका दिन बिहान ठिक ११:०० बजे यस लेकवेशी नगरपालिकाका नगर प्रमुख श्री गगनसिं सुनारज्यूको अध्यक्षतामा हामी तपसिल प्रतिनिधी, कर्मचारी तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको उपस्थितिमा सम्पन्न आकस्मिक बैठकका निर्णयहरु :

निर्णय नं. १

हाल विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरलाई लेकवेशी नगरपालिकाले रोकथाम तथा नियन्त्रण सम्बन्धमा हाल सम्म गरेका क्रियाकलापलाई समिक्षा गरियो ।

निर्णय नं. २

लेकवेशी नगरपालिका अन्तर्गत सबै वडाहरूमा कोभिड-१९ संक्रमित अवस्था पहिचानको दरलाई बढाएमा मात्र कोभिड संक्रमित अवस्था थाहा हुने भएकाले हाल भइरहेको परीक्षणको दायरालाई व्यापक रूपमा बढाउने निर्णय गरियो ।

निर्णय नं. ३

लेकवेशी नगरपालिकाले कोभिड-१९ संक्रमित बिरामीहरूको उपचारका लागि वडा नं. ४ दशरथपुरको कृषि अनुसन्धान केन्द्रमा १५ बेड क्षमताको आइशोलेसन केन्द्र निर्माण गरी उपचार गरीरहेको वर्तमान अवस्थामा उक्त केन्द्रमा आउने बिरामीको रेकर्ड व्यवस्थापनलाई राम्रो गराउनु पर्ने निर्णय गरियो ।

निर्णय नं. ४

लेकवेशी नगरपालिका अन्तर्गत सबै वडाहरूमा लक्षण देखिएका व्यक्तिहरूले गरेको पि.सि.आर. र एन्टिजेन परीक्षणबाट पोजेटिभ भएका संक्रमित व्यक्तिहरूलाई नियमित निगरानी तथा काउन्सिलिङको व्यवस्थाका लागि सम्बन्धित वडाको स्वास्थ्य संस्था प्रमुख (प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, शहरी स्वास्थ्य केन्द्र) लाई फोकल पर्सन (सम्पर्क व्यक्ति) तोकी उक्त वडामा भएका कोभिड-१९ संक्रमित व्यक्तिहरूको दैनिक रिपोर्टिङ लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखामा जानकारी गराउने ।

निर्णय नं. ५

आइशोलेसन केन्द्रमा संक्रमितको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न नगर स्वास्थ्य शाखालाई जिम्मेवारी दिने निर्णय गरियो ।

निर्णय नं. ६

आईशोलेसन केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा संक्रमित बिरामीहरूको थप सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय कल्याणलाई साँझको लागि गस्ती गर्न अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. ७

लेकवेशी नगरपालिकाका सबै वडा अन्तर्गतका समुदायमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमित भई होम आईशोलेसनमा बसेका नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्न समुदाय स्तरमा सम्बन्धित वडाका वडा अध्यक्ष संयोजक, वडा सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुख सदस्य र वडा सचिव सदस्य सचिव रहने गरी अनूगमन टोली गठन गरी संक्रमित बिरामीलाई थप सल्लाह सुझाव दिन सबै वडा कार्यालयलाई निर्देशनका लागि पत्राचार गर्ने ।

निर्णय नं. ८

लेकवेशी नगरपालिकामा सञ्चालनमा रहेको आइशोलसन केन्द्रमा कोभिड-१९ संक्रमित बिरामीहरूको उपचारका लागि अक्सिजन सिलिण्डरको कमी रहेकोले अक्सिजन आवश्यक पर्ने बिरामीहरूको लागि अक्सिजन उपलब्ध गराउन तत्कालै १० वटा अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि नगरपालिका कार्यालयलाई अनुरोध गर्ने निर्णय गरियो ।

आर्थिक वर्ष: